प्रकाशित मिति : २०१९-१२-२९ (अद्यावधिक मित : २०२०-०२-०६)
संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । १० स्थानिय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका छन् । भानु न.पा., व्यास न.पा., शुक्लागण्डकी न.पा., भिमाद न.पा., आँबुखैरेनी गा.पा., बन्दीपुर गा.पा., देवघाट गा.पा., म्याग्दे गा.पा., ऋषिङ गा.पा. र घिरिङ गा.पा. तनहुँका स्थानीय तहका नाम हुन् ।विविध जातजाति भेषभूषाले परिपूर्ण विभिन्न कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरूका तपोकेन्द्रहरू सहितका अलङ्कारहरूले सुसज्जित पनि छ । त्यसैगरी नेपाली साहित्यिक आकाशका उज्ज्वल नक्षत्रका रुपमा रहेका वन्दनीय महापुरुष आदिकवि भानुभक्त आचार्यको जन्मभूमि/कर्मभूमि, महर्षि पराशरको तपोभूमि तथा महाभारतका महा रचायिता महर्षि वेदव्यासको जन्मभूमि/कर्मभूमिका रुपमा समेत यस जिल्लाले प्रसिद्धि पाएको छ ।यस जिल्ला प्रमुख धार्मिक तथा पर्यटकिय स्थलहरूमा व्यसा गुफा, सिद्द गुफा, पन्च मन्दिर, थानिथान मन्दिर, छिम्केश्वरी मार्इ मन्दिर, अकाला देवि मन्दिर, छाब्दि वाराही देवि मन्दिर, ढोर बाराही मन्दिर, देवघाट घाम, तिन खोले देवि मन्दिर, आँधिमुल आदि रहेको छ ।
नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, नवलपरासी र पश्चिममा स्याङ्गजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ्ग जिल्लाहरुद्वारा परिवेष्ठित छ । यस जिल्ला २७०३६" देखि २८०५५" उत्तरी अक्षांश र ८४०३४" दखि ८४०३४" पुर्वी देशान्तरमा अवस्थित छ । समुद्र सतहबाट १८७ मि. (देवघाट गा.पा.को कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल) देखि २१३४ मि. (छिम्केश्वरी डाँडा) सम्मका – भागहरूमा फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल १५४६ वर्ग कि.मी. (४,६०० हे.) रहेको छ । साथै जिल्लाको पश्चिमूर्व लम्बाई ६२.५ कि.मि. र उत्तरदक्षिण चौडाई ४३.७ कि.मि. रहेकोछ । जिल्ला सदरमुकाम दमौली समुद्र सतह देखि ३७० मि.को उचाइमा रहेको छ । औषत वर्षा २०५८ मि.मि. रहेको छ भने अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म हुने गर्दछ । भौगोलिक दृष्टिले दक्षिणतर्फ चुरे र उत्तर तर्फ मध्यपहाडी क्षेत्रहरू मिली बनेको यो जिल्लामा कृषियोग्य क्षेत्र ६५,०६१ हे. (४२.०८%) र चरन क्षेत्रल ४,३०६ हे. (२.७८%) रहेको छ । हिमालय पर्वतबाट निस्केका मर्स्याङ्गदी र त्रिशूली नदीहरूले पूर्व, कालीगण्डकी नदीले दक्षिण तर्फबाट घेर्नुका साथै मादी र सेती नदीहरूले बीचमा चिरेर जिल्लालाई जल सम्पदामा समेत धनी बनाएका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या ३,२३,२८८ (नेपालको जनसंख्याको १.२२%) रहेकोमा सो मध्ये १,७९,८७८ (५५.६४ %) महिला र १,४३,४१० (४४.३६%) पुरुष जनसंख्या रहेको छ । जिल्लामा ७८,३०९ घरधुरीहरू २,३६२ वस्तीहरूमा छरिएर रहेका छन् । हिन्दु धर्मालम्वीको बाहुल्यता रहेको यस जिल्लामा बौद्ध, मुस्लिम, क्रिश्चियन र अन्य धर्मावलम्बीहरूको बसोबास छ भने जातिगत हिसाबले हेर्दा मगर, ब्राहमण, गुरुङ्ग, क्षेत्री, नेवार, जातिको वाहुल्यता रहेको छ र दलितमा (कामी, दमै, सार्की, सुनार, गन्धर्व) जाति समेतको वसोबास रहको छ 
अर्धोष्ण, समशितोष्ण र सितोष्ण जलवायू रहेको यो जिल्ला कृषि र पशुपालनका हिसावले पनि उपयुक्त रहेको छ । सुन्तला जातका फलफुल, जडिवुटि, मौसमी तथा वेमौसमी तरकारी, खाद्यान्न तथा दलहन बाली उत्पादन गार्इभैसी, बाख्रा, बंगुर, कुखुरा तथा माछा पालन तथा जडीवुटी उत्पादनका दृष्टिले पनि उपयुक्त रहेको छ ।प्रसस्त मात्रामा रहेको प्राकृतिक श्रोत साधनको समुचित उपयोग सहित जिल्लाको चौतर्फी विकासका लागि सबैतिरको प्रतिवद्वता नै यहाँको विकासको मूल आधार हो |